Monday, March 29, 2010

0

अर्थमन्त्रीको नयाँ सोच र नयाँ नेपालको मार्गचित्र

  • Monday, March 29, 2010
  • Risap Gautam
  • Share


  • नेपाली कम्युनिस्ट आन्दोलनकै प्रचण्ड बौद्धिक व्यक्तित्व एवम् वर्तमान गणतान्त्रिक नयाँ नेपालको माननीय अर्थमन्त्री डा.बाबुराम भट्टराई यतिबेला समग्र परिवर्तन देख्न चाहने जनताको आखाँको तारो बन्दै हुनुहुन्छ । बौद्धिकता क्षमतालाई माटोले मागेको परिवर्तनसँग जोड्नका निम्ति आफ्नो तेज शैक्षिक बायोडाटालाई पैसासँग तुलना नगरी निरन्तर मुक्तिकामी, शोषित, उत्पीडित जनताका पक्षमा उभिएर जीवनमरणको जनयुद्ध, जनआन्दोलनबाट मानवीय क्षतविक्षतकारी बर्बर दमनको निरङ्कुशता अन्त्य गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने महान् व्यक्तित्व पनि हुनुहुन्छ । हुन त उहाँ त्यति सारो प्रशङ्सा चाहने व्यक्ति हुनुहुन्न तर विगत लामो समयसम्म चलेको अलोकतान्त्रिक, सामन्तवादी गतिविधिलाई अन्त्य गर्ने र जनताले चाहेको दिशातिर मुलुकलाई अगाडि बढाउन उहाँले गरेको त्याग, तपस्या र बलिदानले जोकोहीलाई पनि गम्भीर बनाएको पाइन्छ । त्यसैले पनि प्रशङ्सा त हुने नै भयो । अध्ययनशील, मिहेनती एवम् लगनशीलताका प्रतीक डा.बाबुराम भट्टराईको परिचय वास्तवमै कसैका लागि नौलो नहुन सक्छ । विद्यार्थी जीवनमै ऐतिहासिक बनाउन सफल व्यक्तित्व उहाँ किन र केका लागि राजनीतिमा लाग्नुभयो भन्ने विषय हिजोको दिनहरूमा चासोपूर्वक हेरिन्थ्यो भने आज उहाँको नयाँ नेपालको निर्माणको मार्गचित्र हेर्ने अत्यन्तै उत्सुकतापूर्वक जनता लागिरहेका छन् ।

    वास्तवमै गणतन्त्र नेपाल घोषणा भएपश्चात् गठन भएको यस नवसरकारका प्रतिनिधिहरूमध्ये उहाँको गतिविधि फरक पनि छ । खर्चकै हिसाबले पनि घाटी हेरि हाड निलौं भन्ने विचारमा सहमत भएरै आवश्यकताभन्दा कत्ति पनि खर्च गर्न नचाहने, आफ्नो जिम्मेवारीलाई सही ढङ्गबाट अघि बढाउने व्यक्तित्व पनि हुनुहुन्छ । आफ्नो जिम्मेवारीको मन्त्रालयलाई विकास गर्ने र आफूले व्यक्त गरेका प्रतिबद्धता सफलतापूर्वक सम्पन्न गर्न उहाँ यतिबेला इन्टरनेटको सानो स्त्रिmनमा समेत जनताका सुझाव सुन्न भ्याउनुहुन्छ । त्यति मात्र होइन, नसुतेरै भए पनि आफ्नो अध्ययनशीलताप्रतिको पे्रमभाव जगाउनुहुन्छ । कम्तीमा पनि चार-पाँच घण्टा आफ्नो कार्यव्यस्ततालाई मिलाएरै पढ्नुहुन्छ । परिवर्तनको पर्खाइमा पर्खीबसेका महान् नेपाली जनताको जीवनस्तरको विकासको खातिर डा.बाबुरामहरू लागिपर्नुले नयाँ नेपाल साँच्चै नयाँ र आधुनिक हुनेमा निश्चित छ । त्यसका निम्ति अझै पनि प्रतिगामी प्रतिक्रियावादी तत्त्वहरूसँग राष्ट्रपे्रमी नागरिकहरू नै जुध्नुपर्ने देखिन्छ । भर्खरै उहाँले ल्याउनुभएको युवा स्वरोजगार नीति युवा बेरोजगारी समाधान गर्न दरिलो माध्यम बन्न सक्छ । लामो समयसम्म चलेको अस्तव्यस्त परिवेशबाट जन्माएको युवा बेरोजगारीको लोडलाई यसले पूर्ण निराकरण त गर्न नसक्ला तर यस्ता योजनाले सिर्जनशील युवाहरूप्रति ढाडस प्रदान भने अवश्य गर्छ । नयाँ नेपालको रूपान्तरणका क्रममा डा.बाबुराम भट्टराईले ऐतिहासिक राजस्व सङ्कलन गर्नु र युवा स्वरोजगारजस्ता आफ्नै मुलुकमा देशको मजबुत शक्ति युवालाई ससम्मान केही गर्न सक्ने महान् अवसर प्रदान गर्न सक्नु मनोवैज्ञानिक एवम् वैज्ञानिक दृष्टिकोण अत्यन्त जायज छ । यस्ता नीति तथा कार्यक्रमले देशका बहुसङ्ख्यक युवाजगत्को आत्मनिर्भरता र स्वाभिमान जगाउनेमा पनि दुईमत नहोला । वास्तवमै वैदेशिक रोजगारीका लागि देश छोड्ने प्रवृत्तिले ऊर्जाशील, बौद्धिक युवाजगत्को जोसिलो रगत विदेशी माटोको दुरुपयोग हुन पुगेको छ । विदेशीहरूले नेपाली युवाहरूको श्रमशोषण गरिरहेका बेला, आर्थिक मन्दीले च्यापिरहेको बेला ल्याइएको यस्ता योजनाहरू अत्यन्तै सान्दर्भिक छन् ।

    अब नेपाली जनताले स्वदेशमै आफ्नो पाखुरा बजार्नुपर्छ । त्यसैले पनि हालै ल्याइएको युवा स्वरोजगारी नीति वैज्ञानिक छ, माटो सुहाउँदो छ । यस्ता कार्यक्रममा सही रूपले सम्पन्न गर्न युवा जागरुक हुनुपर्ने बेला आएको छ । विगतका कुनै पनि सरकारले नगरेका/नल्याएका कार्यक्रम भएकाले यसको सफलतामा जनविस्तार पनि छ । परिवर्तन कसैले पनि देखेको हुँदैन तर उचित योजना, क्षमता लगावले इच्छाइएको परिवर्तन आफ्नै अगाडि देखिन्छ, भोगिन्छ मात्रै । त्यसैले साना बालुवाका कणहरू मिलेर बनेको बालुवाको थुप्रोजस्तै युवा स्वरोजगारको साना कार्यक्रमले भोलि ठूला योजना र आत्मविश्वास निर्माण गर्नेमा शङ्का गर्न मिल्दैन । वास्तवमै केही गर्न चाहिएन भने हातमा करोडौं भए पनि त्यो अल्पकालीन मोजमस्तीमा मात्रै सीमित हुनसक्छ । तर केही गर्न चाहियो भने हातमा १-२ लाख छ भने पनि त्यो काफी हुन्छ, त्यसले परिवर्तनको दिशामा उचित ढङ्गले अघि बढ्ने जो कोहीलाई पनि सफल बनाउँछ नै । जुनसुकै प्रगतिवादी कदम इच्छाशक्तिमै भरपर्छ । हामीलाई थाहै छ, अघिल्ला पुस्ताका हाम्रा पूर्वजहरू शिक्षादीक्षाको नाउँमा शून्य भए पनि गणितमा कसरी सचेत भए त पैसाको जोडघटाउमा किन दख्खल छ त ? त्यो सबै इच्छाशक्तिले हो । त्यसैले परिवर्तनकारी दिशातिर उन्मुख हुन एवम् सफलता पाउन इच्छाशक्ति नै बलियो हुनु जरुरी छ । त्यसैले वर्तमान नेपालको वैज्ञानिक तौरतरिकाबाट रूपान्तरणको थालनी गर्नुहुने डा.बाबुराम भट्टराईलाई यतिबेला सबै सङ्घ तथा संस्था आवद्ध भएका युवा शक्तिको साथसहयोगको आवश्यकता छ ।

    नयाँ नेपालको थालनीका क्रममा होनहार शक्ति मानिने युवाजगत्लाई लक्षित गरेर ल्याएको युवा स्वरोजगार कार्यक्रम नयाँ नेपाल निर्माणको झुल्किदो मार्गचित्र हो । यसले वैज्ञानिक फड्को मार्नु जरुरी छ । यसका सम्भावनाहरू पनि निकै बलिया देखिन्छन् । आर्थिक सम्पन्नताले नै कुनै पनि देशको परिवर्तनको इच्छाशक्तिलाई पूरा गर्न सक्छ त्यो राजनीतिक सांस्कृतिक शैक्षिक एवम् विकास निर्माणकै दृष्टिकोणमा किन नहोस् । त्यसो हुँदा अब देशमा यस्ता बहुआयामिक नीतिहरू क्रमशः अल्पकालीन, दीर्घकालीन गर्दै ल्याउनुपर्छ । रोजगारीपूर्ण वातावरण केही गर्न सकरारकाले नै गरेको सहयोगी वातावरणले देशमा व्याप्त हिंसा, हत्या र अराजकतालाई समूल अन्त्य गर्न मद्दत पुर्‍याउँछ । सभ्य र अनुशासित वातावरणको विकासमा पनि यस्ता कार्यक्रमहरूको प्रभावले महत्त्वपूर्ण भूमिका खेल्छ । दशकभरमै देशले अर्काे फड्को मार्ने यस्ता योजनाको विकासले मद्दत पुर्‍याउँछ । डा.बाबुराम भट्टराईहरूले ल्याउनुभएको यस सयमसापेक्षित नीति तथा कार्यक्रमहरूको ठीक ढङ्गले विकास गर्दै लैजानुपर्ने छ र यस्तो नीति तथा कार्यक्रमले अग्रगामी जनताका परिवर्तनकारी इच्छालाई धेरै हदसम्म राहत पुर्‍याउँछ । यसको पूर्ण रूपमा कार्यान्वयन गर्दै थप यस्तै वैज्ञानिक सोचसहितका कार्यक्रमहरू ल्याउनुपर्ने आवश्यकता धेरै छ । जनताले निश्चय पनि यस्ता नीति तथा कार्यक्रमहरूप्रति सधैं पूर्ण समर्थन जनतन छन् । युवा विद्यार्थी एवम् समग्र बेरोजगारहरूले यसको उपयुक्त ढङ्गबाट आफ्नो सीप र क्षमताको प्रयोग गरी अघि बढ्नुपर्नेछ । नयाँ नेपालको मानचित्रमा हुर्कंदै गएको यस प्रगतिवादी पहलकदमीले साँच्चै नै छुट्टै महत्त्व राख्छ । लामो समयदेखि भताभुङ्ग र लथालिङ भएको पुरानो संरचनाको ध्वस्त गर्दै पुरानो विचारको अन्त्य गर्दै नयाँ सोच विचारका साथ पुनर्संरचनामा लाग्न कस्सिएका डा.बाबुरामहरूलाई हामी आमनागरिक विद्यार्थी, युवा, पत्रकार, बुद्धिजीवीले सकारात्मक रूपले आ-आफ्नो ठाउँबाट सहयोग पुर्‍याउनुपर्ने जरुरी छ । अनि मात्र सम्भव हुन्छ नयाँ नेपाल ।

    १२ फागुन २०६५

    जनदिशा दैनिक


    You can vist this article at Baburam bhattrai's B click here

    0 Responses to “अर्थमन्त्रीको नयाँ सोच र नयाँ नेपालको मार्गचित्र”

    Post a Comment

    Site Info