Monday, February 27, 2012

0

समयसापेक्ष बन्न नसक्दा आर्थिक स्थिति अझ ओरालोतिर

  • Monday, February 27, 2012
  • Risap Gautam
  • (रिसव गौतम),
    आर्थिक रुपमा विश्व समुदायका राष्ट्रहरु तीव्र एकअर्कामा अन्तरनिर्भर बन्दै जाँदा नेपाल पनि अलग रहेर बस्ने अवस्था हुँदैन। सूचना र साचार क्षेत्रमा आएको बहुआयामिक भूमण्डलीकरणका कारण विश्व समुदाय आज एकअर्कामा नजिक र प्रत्येक सरोकारको उर्वर भूमि बन्दै गएको छ।

    हिजो संसारका देशहरुबीच आपसी सम्बन्ध र चासो फरक भौगोलिक अवस्था र साचारको विकासको अभावमा हुन नसकेको थियो भने आज त्यो अवस्था फेरिएर संसार नै एउटा गाउँ भैइसकेको छ। अझ विश्व जनसंख्यामा आएको तीव्र वृद्धि र जमिनमा आएको उत्पादन ह्रास जलवायु परिवर्तनलगायतका प्राकृतिक विपत्ति र संकटजस्ता समस्या तथा चुनौतीले घेरिएर संसारका देशहरुबीच तीव्र आर्थिक अन्तस्रम्बन्ध विकसित हुँदै गएको छ। खाद्य संकटलगायतका महामारीले पनि देशहरुबीच आर्थिक अन्तरनिर्भरता बढाउँदै लगेको छ जसको फलस्वरुप विश्वव्यापीकरण अर्थात् व्यापार प्रवद्र्धनको माध्यमबाट संसारका देशहरु सिंगै बजार बनेको अवस्था छ। पछिल्लो समय कतिपय होनहार समाजवादी मुलुक भनिनेहरु पनि विश्वव्यापीकरणको माध्यमबाट तीव्र पुँजीवादतर्फ मोडिँदै गएका छन्। सन् १९७८ तिरबाट समाजवादी मुलुक चीनले समेत आर्थिक गतिविधिलाई उदार बनाउँदै लगेको र आज डब्लुटीओ को सदस्य राष्ट्र भएको १० वर्षमै विश्व आर्थिक महाशक्ति राष्ट्र बन्ने दौरानमा आइसकेको छ। विश्वको सबैभन्दा बढी औद्योगिक वस्तुको निर्यात गर्ने र दोस्रो ठूलो आयात गर्ने राष्ट्र चीन आज व्यापारिक कुशलताको सर्वोत्तम नमूना बनेको छ। उसका हरेक पाइला आज व्यापारिक गणितका आधारमा चल्ने भएका छन्। चाहे छिमेकी देशहरुबीचको सम्बन्धमा होस् चाहे विश्व समुदायका लब्धप्रतिष्ठित देशहरुसँग हुन् चीनले सबैलाई व्यापारिक चस्माले नियाल्दै गएको उसको पछिल्ला विकसित गतिविधिले देखाउँदै आएको छ। यस हिसाबले चीनले उदारीकरण र विश्व व्यापार संगठनका माध्यमबाट ठूलो प्रगति गरिसकेको अवस्था छ। तर नेपालले विश्व अर्थतन्त्रमा आएको यो नयाँ टे्रन्डलाई समात्न नसकी आपसी राजनीतिक खिचातानीमा अल्झिरहँदा प्रतिस्पर्धी विश्वमा धेरै पछाडि पर्दै गएको छ। आधुनिक विकास निर्माण त परै जाओस् भौतिक पूर्वाधारलगायतको समेत समुचित विकास हुन नसक्दा ठूलो आर्थिक संकट झेलिरहेको छ।

    गरीबी निवारणसम्बन्धमा २०१३ सालदेखि नै योजनावद्ध विकास थालनी भए पनि आजसम्म गरिबीको भयावह अवस्था फेरिएको छैन। सरकारी तथ्यांकले गरिबहरुको संख्या घटेर २५ प्रतिशत गरिबी देखाए पनि यससँग सम्बन्धित प्रतिष्ठित अन्तर्राष्ट्रिय संघसंस्थाहरुले अझै नेपालमा ६५ प्रतिशतभन्दा बढी गरिबहरुको बाहुल्य कायम रहेको जनाउँदै आएका छन्। अझै न्यूनतम आधारभूत आवश्यकता गाँस बास र कपास को अभावमा कयौं मानिस पिल्सिएको अवस्था छ। तर सरकारी अज्ञानता वा भ्रम संप्रेषण के भनौं त्यसले प्रेषण गरेको अफवाहले दलहरुको तीव्र खिचातानीमा बन्दै आएका सरकारहरुले आफ्नो सरकार सफलताको आधार मिथक तथ्यांक देखाएको हुन सक्छन्। यो अवस्थाले भ्रम असफलता र निरिहतालाई दर्शाएको छ। विश्व एउटा ठूलो व्यापारिक ग्राम भैसकेको अवस्थामा पनि नेपालले अथाह स्रोत साधनको सदुपयोग गरी सफलता हासिल गर्न सकेको छैन। अहिले विश्व समुदाय कसरी तीव्र एकअर्कामा सम्बन्धित छन् भन्ने कुरा युरोप संकटले विश्व अर्थतन्त्रमा पुर्याएको प्रभावलाई हेर्दा बुझिन्छ। युरोपमा लगातारको ऋण संकट अमेरिकामा भएको आर्थिक मन्दीलगायतले दक्षिण एसियाका मुलुकहरु स्वयम् नेपाललाई पनि कसरी प्रभाव पार्दै छ त्यसलाई बुझ्न अपरिहार्य छ।

    युरोपको वित्तीय संकटका कारणले अहिले उसले दक्षिण एसियाका भारत तथा चीनलगायतका देशबाट आफ्ना बैंक तथा वित्तीय संस्था फिर्ता लाँदै गर्दा त्यसले भारतको अर्थतन्त्रमा पार्ने प्रभाव र त्यसले नेपालसम्म आइपुग्ने झड्काले पनि विश्व अन्तस्रम्बन्धलाई बुझाउँछ। संसारमा १० प्रतिशतभन्दा बढी तेल निर्यात गर्ने मुलुक इरानसँग अमेरिकी आर्थिक नाकाबन्दीले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ त्यसले पनि नेपालसम्म कसरी प्रभाव पार्छ बुझ्नु जरुरी छ। यद्यपि अमेरिकाले थालेको इरानमाथिको नाकाबन्दीमा भारतलगायतका उसका अन्तरंगका मित्रहरुले समेत साथ नदिएको अवस्था छ। जसले गर्दा इरानमाथिको एकलौटी नाकाबन्दी अमेरिका आफैलाई हानिको विषय बन्दै छ।

    परमाणुसम्बन्धी विवादका कारण आर्थिक नाकाबन्दी लगाउनुपरेको अमेरिकी तर्कका पछाडि इरानमाथि उसको तेलमाथिको गिद्दे दृष्टि नै हो। कदाचित भारतले इरानमार्फत आयात गर्दै आएको तेल बन्द गर्ने अवस्था आइदिएको भए निश्चित रुपमा नेपालमा पनि पेट्रोलियम पदार्थमा संकट निम्तिन सक्ने थियो। यसले पनि विश्वका देशहरुको आवश्यकतासँग कसरी आर्थिक अन्तर्निर्भरता बढाउँदै गएको छ भन्ने पुष्टि हुन्छ।

    संसारभर पेट्रोलियम पदार्थको संकट क्रमिक चुलिँदै जाँदा महाशक्ति राष्ट्र अमेरिकाले करीव २ सय वर्षसम्म पुग्ने पेट्रोलियम पदार्थको साचय गरिसकेको गोप्य सूचना चुहिँदै आएको छ। पेट्रोलियम पदार्थमा अमेरिकी चतुर्याइले पेट्रोलियम संकटको भावी अवस्था र अमेरिकी आर्थिक कूटनीतिलाई स्पष्ट बुझ्न सकिन्छ। यसरी प्रकृतिका कतिपय अनुपम चिजहरु विविधतायुक्त विश्वका सीमित स्थान विशेष मात्र उपलब्ध हुने र त्यसले आधुनिक विश्वलाई सघन प्रभाव पार्दै लगेको छ। यस्ता कतिपय वस्तुमा देशहरुले गर्ने पूर्वचलाखीले उनीहरु आर्थिक रुपमा भाबी दिनहरुमा पनि सबल हुने र तिनलाई संसारमा आधिपत्य जमाउन सहज तुल्याउँदै लगेको छ। त्यसकारण विश्वव्यापीकरण र आर्थिक अन्तरनिर्भरताको बदलिँदो अवस्थालाई नेपालले पनि बेलैमा बुझ्न जरुरी छ। आफ्ना स्रोत तथा साधनको समुचित उपयोग गरी विश्व बजारमा त्यसको बिक्री प्रवद्र्धनमार्फत अर्थतन्त्रको सुदृढीकरणमा लाग्न आवश्यक छ। होइन भने नेपालको आर्थिक विकास अहिलेको भन्दा पनि निकै मन्द हुँदै जाने पक्का छ।
    risap.gautam@gmail.com
    Read more...

    Site Info