Friday, March 4, 2011

0

बजार प्रतिस्पर्धामा सूचना संयन्त्र

  • Friday, March 4, 2011
  • Risap Gautam
  • रिसव गौतम

    बदलिँदो विश्व आधुनिक बजार सघन प्रतिस्पर्धात्मक हुँदै गएको प्रति आमव्यवसायी बेखबर छैनन् । नेपालको वस्तुबजार पनि विश्वव्यापीकरण र आधुनिकरणको बढ्दो प्रभावका कारण प्रभावित भइरहेकै छ । त्यसका ज्वलन्त उदाहरणका रूपमा नेपालकोे व्यापारघाटालाई लिन सकिन्छ । गत वर्ष नेपालको वैदेशिक व्यापारघाटा करिब ७० प्रतिशतबराबर थियो । नेपालको निर्यात व्यापारको कुल अंशले जम्मा १७ प्रतिशत आयात धान्न सकिरहेको छ । यसबाट नेपालको बजारले बाह्य मुलुकहरूसँग व्यापारिक प्रतिस्पर्धा गर्न नसकेको देखिन्छ । तसर्थ नेपालको व्यापारघाटा न्यूनीकरण गर्न बजार संयन्त्रलाई रणनीतिक र चुस्त बनाउनु आवश्यक छ कुनै पनि बजार संयन्त्रलाई रणनीतिक र प्रतिस्पर्धात्मक बनाउनका लागि सूचना प्रणालीको निकै ठूलो भूमिका रहन्छ । सूचना प्रणालीको पर्याप्त लाभ लिन नसके अहिलेको अवस्थामा वैदेशिक व्यापारमात्र नभएर स्वदेशी व्यापारबाट समेत उचित लाभ उठाउन सकिनेछैन । केही हदसम्म नेपाली व्यावसायिक जगत्मा आधुनिक बजार प्रणालीको प्रभाव बढ्दै गएको कुरा नेपालमा विज्ञापन बजारको आकार फराकिलो र बाक्लो हँुदै गएबाट प्रस्ट हुन्छ ।

    बढ्दो सूचना संयन्त्रको उपयोगमार्फत व्यवसायीले आफ्ना प्रतिस्पर्धीको नाफा–घाटाबारे जान्न र उसको वस्तुलाई बजारबाट विस्थापन गरी आफ्ना मालसामानको बजार निर्माण गर्न सहयोग पुग्ने स्पष्ट छ । खासगरी आफ्नो व्यवसायको भावी योजना तय गर्न, बजार रणनीति तय गर्न र संगठनका अन्य संयन्त्रलाई स्वस्थ र चुस्त तुल्याउन सूचना संयन्त्रको बढी भूमिका रहन्छ । त्यति मात्र नभई नयाँ व्यवसायको थालनीका लागि पनि सूचना संकलनको अधिक महत्व रहन्छ ।

    विश्वव्यापी प्रतिस्पर्धा चुलिएको अहिलेको अवस्थामा बजार अनुसन्धान एउटा अपरिहार्य सर्त बन्दै आएको छ । सम्भावित बजारको उचित अध्ययन–अनुसन्धान नगरेसम्म नयाँ व्यवसायको थालनी सफल हुने वा नहुने ग्यारेन्टी रहँदैन । बजारको आवश्यक अनुसन्धानबिना थालनी भएका धेरै व्यावसायिक संगठन असफल भएका उदाहरण हाम्रै सामु पनि छरिएका छन् । तसर्थ व्यावसायिक संघ–संगठनहरूमा उत्पादनदेखि बिक्री प्रवद्र्धनसम्मको हरेक क्रियाकलापमा सूचना–संयन्त्रको भूमिका धेरै गहन र निर्णयक हुँदै आएको छ ।

    सफल बजार व्यवस्थापकले ग्राहकका आवश्यकता सिर्जना गराउन सक्नुपर्छ र सो आवश्यकता पूर्ति गर्न उपयुक्त वस्तु तथा सेवा हस्तान्तरण गर्न सक्नुपर्छ । ग्राहकका रुचि चाहना पहिचान गरी आवश्यकताको विश्लेषण गर्न सूचना संयन्त्रकै भूमिका अहम हुन्छ ।

    त्यस्तै वस्तुको मूल्य निर्धारण गर्न, कमिसन तथा छुटसम्बन्धी व्यवस्था गर्न पनि बजार अनुसन्धान गर्नुपर्ने हुन्छ । बजार सूचनाबाट मात्र आफ्ना प्रतिस्पर्धीको मूल्यनिर्धारण रणनीति, छुट तथा कमिसन रणनीति बुझ्न र आफ्ना चालबाजी सञ्चालन गर्न सहयोग पुग्छ । पर्याप्त सूचना संकलन र त्यसको विश्लेषणबिना आफ्ना वस्तुको मूल्यनिर्धारण, कमिसन तथा छुटजस्ता कार्यक्रम सञ्चालन गर्दा प्रतिस्पर्धीले बजार चुनौति खडा गर्न सक्छ । त्यसले व्यावसायिक असफलता सृजना गर्न पनि सक्छ । कतिपय अवस्थामा प्रतिस्पर्धामक बजारमा प्रतिस्पर्धीले रणनीतिक चालबाजीहरू प्रयोगमा ल्याइरहेका हुन्छन् । जस्तो मूल्यनिर्धारणको सवालमा प्रतिस्पर्धीले कहिलेकाहीं आफ्नो वस्तुको मूल्य थोरै मात्र पनि कम गरेर अथवा विभिन्न उपहार, छुट तथा कमिसनजस्ता हेर्दा देखिने तर वास्तविकतामा केही नहुने बरु ग्राहकमा भ्रम सिर्जना गरी आकर्षण गर्ने खालका नीति लिन सक्छ, त्यस्तो अवस्थामा उचित किसिमको निर्णय लिन र कदम सञ्चालन गर्न यथोचित तवरले सूचना संकलन गरी ग्राहक मनोविज्ञान बुझन सक्नुपर्छ । यदि आवश्यक तथ्यपूर्ण सूचनाको संकलन र विश्लेषणबिना नै कुनै किसिमको कदम चालियो भने बजार असफलता हात लाग्न पनि सक्छ ।

    यसरी अहिलेको प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धीको सामान गर्न, योजना बनाउन, बजेट बनाउन, संगठनको आन्तरिक तथा बाह्य निर्णय लिन, उपलब्ध स्रोत–साधनको समुचित प्रयोग तथा व्यवस्थापन गर्न, बजार अनुसन्धान गर्नलगायतका यावत् कार्र्य गर्न सूचना संयन्त्रको ज्यादै ठूलो भूमिका रहन्छ ।

    तसर्थ अहिलेको आवश्यकता भनेको यी सयन्त्रको व्यापक महत्वबोध गराउँदै प्रतिस्पर्धी बजारमा प्रवेश गर्नु हो । त्यसका लागि अहिलेको जस्तो न्यून सूचना पहुँचको अवस्था रहनु हुँदैन । धेरैभन्दा धेरै व्यवसायी तथा ग्राहकहरूमा इन्टरनेट पत्रपत्रिकालगायतको सूचना–स्रोतको पहुँच र उपयोगिता विस्तार जरुरी छ । यदि व्यावसायिक दुनियाँमा छिर्ने जोकोहीले तथ्यपूर्ण सूचनाको पर्याप्त संकलन र विश्लेषण गरी आफ्ना व्यावसायिक रणनीति तय गरी अघि बढ्छ भने सफलता धेरै टाढाको विषय हुँदैन । हाल विश्वमानचित्रमा अधिक रूपले शीघ्र सम्पन्न बन्दै आएका भारत, चीन तथा अमेरिका सूचना संयन्त्रकै भरपूर लाभ लिएकै कारण सफल भएका छन् । उनीहरूका हरेक देशप्रति आफ्ना व्यवसायी रणनीति तत् देशका समग्र भू–अध्ययनका आधारमा तय गरिएका हुन्छन् । हामीलाई विश्वास नलाग्न सक्छ, तर उनीहरूले यो इन्टरनेट जमानाको फाइदा उठाउँदै आफ्नै देशको एउटा सानो कम्युटर स्क्रिनमै यावत् सूचना संकलन गरी हामीलाई प्रतिस्पर्धाबाट अलग्याउने नीतिहरू कोरिसकेका हुन्छन् । तसर्थ नेपाली व्यवसायीहरूले पनि बदलिँदो विश्वको आधुनिक सूचना संयन्त्रको सहयोग लिई तथ्यपूर्ण बजार सूचनाको संकलन र विश्लेषण गरी बजारमा प्रवेश गर्नु आवश्यक हुन्छ ।
    published in karobardaily.4 march
    Read more...

    Site Info