Saturday, December 11, 2010

0

संविधान निर्माणका लागि नागरिक दबाब

  • Saturday, December 11, 2010
  • Risap Gautam
  • Share
  • (रिसव गौतम),
    एक जुगमा एक पटक अवसर मिल्ने संविधान निर्माण प्रकि्रया यतिबेला पूरै अलपत्र छ।

    जनताको व्यापक सहभागितासहितको जनआन्दोलन रक्तपातमय जनयुद्ध र कयौं फुटकर आन्दोलनहरुको संयोजनले सिर्जना गरेको जनताको भाग्य भविष्य फैसला गर्ने यो ऐतिहासिक प्रक्रियाबाट दलहरु क्रमिक रुपले पन्छिन लाग्दै गएका हुन् कि भन्ने आशंका पैदा हुँदै गएको छ। दुई वर्षभित्र संविधान निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित जारी गरिएको अन्तरिम संविधानको भावनाविपरीत एक वर्ष समय अझै थप गर्दा समेत संविधान बन्ने जस्तो छाँटकाँट देखिँदैन। गत जेठ १५ गते आधा रात लगाएर संविधान निर्माण गर्ने समय १ वर्ष थप गरिए पनि ६ महिना बितिसक्दा समेत संविधान निर्माण प्रक्रिया रफ्तारमा अगाडि बढ्न सकेको देखिँदैन। दलहरु केवल कुर्सी प्राप्तिको दौडाहामा धुरन्धर लागिपरेका छन्। यस हिसाबले फेरि पनि जनताको सुनौलो भविष्य धरापमै पर्न लागेको ठहर्छ।

    देशमा शान्ति सुव्यवस्था र अमनचयन हुने थियो भने निश्चय पनि नेपाल भारत र चीनजस्ता उदयमान दुई छिमेकीको जस्तै समुन्नतिको दिशामा अगाडि बढ्ने थियो। गरिबी अराजकता र त्रासद वातावरणमा रुमल्लिरहनुपर्ने थिएन। त्यसलाई पुष्टि गर्ने मसिनो उदाहरण हामीले भुटानलाई लिन सक्छौं। भुटान अहिले शान्ति र सुव्यवस्था भएकै कारण समुन्नतिको दिशातिर तीव्र अघि बढिरहेको छ। भुटानले जलविद्युत्को व्यापारकै सहायतामा लगभग १५ प्रतिशतका दरले आर्थिक वृद्धि हासिल गरेको छ। जलविद्युत् उत्खननको अलावा विविध विकास निर्माणको कार्यलाई अघि बढाउँदै लगेको छ। तर केही वर्षअघिसम्म पनि आर्थिक दृष्टिले भुटानको तुलनामा अगाडि रहेको नेपाल अहिले पूरै लथालिड्ड र भताभुड्डको स्थितिमा छ। सहमतिको नाममा दलहरुबीच निरन्तर वार्ता र बैठक हुँदै आए पनि देशले निकास पाउन सकेको छैन। दलहरुले केवल सत्ता प्राप्तिलाई नै घुमाउरो पारामा आफ्ना एजेन्डा बनाउँदै आएका छन्। जसले गर्दा जनताका एजेन्डाहरु तुहिनै लागेको छ। तसर्थ संविधान निर्माण गर्ने बाँकी ६ महिनाभित्र संविधान लेखिसक्न आमराष्ट्रप्रेमी नागरिक आफै जुर्मुराउनुपर्ने आवश्यकता खड्किएको छ। सबैले आ-आफ्ना क्षमताले भ्याएसम्म संविधान निर्माणको लागि दबाब सिर्जना नगर्ने हो भने देशले छिट्टै एउटा दुर्घटना बेर्होनुपर्नेछ। त्यतिबेला अपसोच मानेर केही हुने पनि छैन।

    वास्तवमा दलहरुबीच यति लामो समयसम्म विवाद कायम रहनु र थप असहमतिका पर्दाहरु खुल्दै जानुमा पनि केही विभ्रमहरु छन्। केही सदीयौंदेखि जनतालाई शोषण उत्पीडन गर्दै आएका वर्गहरुका षड्यन्त्र पनि छन्। र केही थान स्वार्थी दस्ताहरुको चलखेल पनि रहेका छन्। होइन भने १२बुँदे दिल्ली सम्झौता बृहत् शान्ति सम्झौता हुँदै यहाँसम्म आइपुगेका दलहरुमा यति धेरै किचलो हुने थिएन। खास गरी राजतन्त्रको विधिवत् अवसानपछि शुरु भएको लोकतान्त्रिक राज्यव्यवस्थामा विविध बाधा-अडचन पुर्याउनमा राजावादीहरु पनि बढी नै उद्यत छन्। तर त्यो स्वाभाविक नै हो। छँदा खाँदाको आफ्नो आलिसान यात्रा त्यसै विलय भएको कसलाई पो सहय हुन्छ र त्यस्तै यो व्यवस्थामा अलि बढी नै चलखेल गर्न लागिपरेको लालची र स्वनामधारी बुद्धिजीवी नै हुन्। लेख्ने र बोल्ने स्वतन्त्रताको भरपुर दुरुपयोग गर्न तल्लीन यी केही मान्छेहरुका जमात आफ्ना मनोमानी तर्क कुर्तकका भारी एकअर्का दलहरुमा जबर्जस्त थोपर्न उद्यत छन्। यिनका वर्गीकृत फुस्रदिला अनि राष्ट्रभावको रंग कतै नमिस्सिएका केवल स्वार्थको त्यान्द्रो झुन्डिएका तर्क तथा दबाबका कारण दलहरु बीचको मत्तैक्य झनै बढ्दो छ। नेपालको लेख्ने बोल्ने सार्वभौम स्वतन्त्रतासहितको यस लोकतान्त्रिक व्यवस्थामा दलहरुबीच सहमति होस् भन्दा पनि एकअर्काबीच फाटो निर्माण गर्ने काम यिनै लालची विद्वान्हरुको हो। तसर्थ दलहरुले समयमै सोच्नुपर्छ।

    कसैका वैमनस्यपूर्ण विचारबाट अभिप्र्रे्ररित नभई राष्ट्र र राष्ट्रियतालाई मध्यनजर गर्दै फराकिलो निर्णयसहित समझदारीले अगाडि बढ्नु दलहरुको अहिलेको आवश्यकता हो। पक्कै हिजो जनयुद्ध र जनआन्दोलनको विषम परिस्थितिमा महान् हृदयीभावसहित सहमतिको यात्रामा अगाडि बढेका दलहरु अबका दिनहरुमा पनि मिलेरै अघि बढ्न सक्छन्। मान्छेहरु विभिन्न क्षमतासहित प्रकृतिका अनुपम प्राणी भएर जन्मिएको हुनाले पनि केही मतभिन्नताहरु हुनु अस्वाभाविक हुँदै होइन। तर मान्छे विवेक र नैतिकताको खानी भएकोले पनि मिलेरै जान सकिन्छ असम्भव केही छैनन्। त्यो त विशाल संसारमा भइरहेको उदाहरणीय कदमहरु पनि भनिरहेको छ। तसर्थ नेपालमा गत ५ वर्षदेखि निरन्तर अघि बढेको शान्ति र संविधान निर्माणको यात्रामा जनताको दृष्टिबोध रचनात्मक सुझाव र खबरदारी जरुरी छ।

    यदि दल र नेताहरुबीच व्याप्त जुंगाको लडाइँ गर्ने प्रवृत्ति निरुत्साहित गर्दै सहमति र समझदारी कायम गर्न आमजनता बुद्धिजीवी तथा विविध पेशाकर्मीहरु एक पटक कम्मर कसेर लाग्ने हो भने नेपालमा अझै पनि बाँकी अवधिमा संविधान निर्माण सम्भव छ। होइन यो ठीक अनि त्यो गलत भन्ने खालका भ्रमित चेतनालाई यसरी नै पालनपोषण गर्ने र आफू मात्र ठीक अरु सबै बेठीक भन्दै ठीक बेठीकको नारा जुलुसमा अन्धभक्त भई लागिरहने हो भने चाहिँ अब नेपालमा संविधान बन्दै बन्दैन। सबैमा चेतना रहोस्।

    0 Responses to “संविधान निर्माणका लागि नागरिक दबाब”

    Post a Comment

    Site Info