Wednesday, December 8, 2010

0

माओवादी पालुङ्टार बैठकसँग जनताको अपेक्षा

  • Wednesday, December 8, 2010
  • Risap Gautam
  • Share
  • रिसव गौतम),
    माओवादीले आज मंसिर ५ गतेदेखि छैटौं विस्तारित बैठक गर्दै छ।

    संविधानसभा निर्वाचनमार्फत व्यापक जनसमर्थन पाएको माओवादीले राजनीतिक आर्थिक सामाजिक एवम् सांस्कृतिकरुपले देश पूर्णरुपले अधोगतितिर लम्किरहेको अवस्थामा गर्न लागेको विस्तारित बैठकलाई आमजनताले चासोपूर्वक हेरिरहेका छन्। कतिपय बुद्धिजीवी राजनीतिक विश्लेषक तथा राजनीतिसँग सम्बन्धित पक्षहरुले त माओवादीको विस्तारित पालुङ्टार बैठकले देशको भावी मार्गदिशा उजागर हुनेसम्मको अड्कल काटेका छन्।

    वास्तवमा माओवादीले देशको सघन अनिश्चतता र संक्रमणको अवस्थामा गर्न लागेको विस्तारित बैठक निश्चय नै जनताको अपेक्षाको केन्द्रमा हुने नै छ। दशवर्षे सशस्त्र जनयुद्ध र १९दिने जनआन्दोलन हुँदै शान्तियात्रामा अघि बढेको माओवादीले जनतामा परिवर्तनको ठूलो सपना देखाएको थियो। खासगरी संविधानसभा गणतन्त्र धर्मनिरपेक्षता संघीयता समावेशीताजस्ता अग्रगामी एजेण्डासमेत उसैको नेतृत्वदायी भूमिकामा देशले पाएको थियो। शायद माओवादीको गाउँगाउँबाट उठेको सशस्त्र जनयुद्ध नभइदिएको भए राष्ट्रले यति छिट्टै ती अग्रगामी एजेन्डा हासिल गर्ने थिएन। तर ती परिवर्तनका अग्रगामी एजेन्डाहरु अहिले बेवारिसे बन्दै गइरहेका छन्। कतै माओवादीले पनि त्यसलाई बेवास्ता गरेको त छैन भन्ने आशंका अन्योलका यी दिनहरुमा हावासरि फैलिँदै गएका छन्। अन्योलता आशंका र अराजकताका यी दिनहरुमा माओवादीले विगतदेखि अहिलेसम्मकै आफ्ना नीति कार्यक्रमको समीक्षा गर्दै भावी नीति कार्यक्रमको निक्र्यौल गर्न बस्न लागेको बैठक वास्तवमा उसको परीक्षाको महत्वपूर्ण घडी पनि हो। साथै देशको वर्तमान राजनीतिक परिघटना उतारचढाव तथा आरोह-अवरोहहरुलाई विल्कुल सही मार्गबाट अवतरण गर्ने वा नगर्ने भन्ने जनताको भविष्यसँग जोडिएको विषय पनि यससँगै सम्बन्धित छ।

    खास गरी नौ महिने माओवादी सरकार हुँदा समेत देशमा कुनै त्यस्तो प्रभावकारी कार्य हुन नसकको स्पष्टै थियो। अर्थमन्त्री डा. बाबुराम भट्टराईको ऐतिहासिक राजश्व संकलन कार्य र प्रगतिशील गाउँमुखी बजेटसिवाय प्रचण्ड सरकारले शान्ति सम्झौतासँग जोडिएको सेना समायोजन परिवर्तनका एजेन्डा संघीयता निर्माणजस्ता महत्वपूर्ण विषयमा खासै प्रभावकारी कार्य सम्पादन गर्न सकेको थिएन। त्यसमा केही प्रतिकूल पाटाहरु पनि छिपेका थिए होलान्। तर पनि माओवादी सरकारले जनताको नयाँ नेपालप्रतिको तीव्र आकांक्षा सम्बोधन गर्न नसकेको पक्कै हो। बरु कटवाल प्रकरणसँग रुमल्लिएर देश यो संकटपूर्ण घडीमा आइपुगेको छ। तसर्थ माओवादीले आफ्नो बैठकमा सरकारमा अवतरण भएदेखि हालसम्म गर्दै आएका गतिविधिबारे ठोस समीक्षा गर्नै पर्छ। जनयुद्ध र जनआन्दोलनको श्रेष्ठताले हासिल भएका परिवर्तनका अग्रगामी एजेन्डा सम्झौताबाट कहीँ कतै विचलित हुनु हुँदै हुँदैन। ठूलो दल भएको हिसाबले देशको भविष्य निर्माणको ठूलो हिस्सा माओवादीमा नै हुन्छ। संविधानसभा चुनाव भएपछिका माओवादीका गतिविधि नियाल्दा ऊ कतै आफ्नै छायाँदेखि तर्सिएको त होइन आफ्नै कोर्टमा बल हुँदाहुँदै बल अरुको कोर्टमा भएको दाबी गर्दै त छैन भन्ने खालका मनोभाव उसमा देखिन्छ। जनताको बकाइदा ठूलो समर्थन पाएको दल भएको नाताले उसले यस खालका गतिविधिबारे विस्तारित बैठकमा समीक्षा गर्दै निराकरण गर्नु पर्दछ। जनतामा त्रास छर्ने खालका हत्या हिंसा लुटपाट गालीगलौज बेइज्जती गर्ने खालका गतिविधि त्याग्नै पर्छ। अरु दलहरुको पनि अस्तित्व स्वीकार्दै देशको अग्रगामी परिवर्तन र नयाँ नेपाल निर्माणको दिशामा आफूलाई उभ्याउनुपर्दछ।

    संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्ग्याउने नेतृत्वदायी भूमिका निर्वाह गर्न छाडेर माओवादीले जनविद्रोह वा क्रान्तिको कुरा गर्नु हुँदै हुँदैन। जनविद्रोह र क्रान्ति भनेको जनयुद्ध र जनआन्दोलन नै थियो। ती हिजै भइसके। तसर्थ माओवादीले ती ऐतिहासिक क्रान्तिका उपलब्धिहरुको रक्षा विकास र जनताको हित हुने गरी संस्थागत गर्नुपर्दछ। त्यसको उचित स्याहारसुसार र पोषण गर्नु नै अहिलेको वास्तविक आवश्यकता हो। जनताले राजेको र खोजेको बाटो हो। यदि माओवादीले यो विस्तारित बैठकमा जनताका यी अभिभारालाई लत्याएर क्रान्ति वा विद्रोहको रहर अभिव्यक्त गर्यो भने त्यो शायद देशको खरानी रोजेको बाटो हुनेछ।

    एमाले र कांग्रेसजस्ता पुराना राजनीतिक जो विगतमा राजासित सहकार्य गर्दै अगाडि बढेका थिए दलहरुसमेत राजतन्त्रबाट असन्तुष्ट बनेर माओवादीकै एजेन्डा स्वीकार गर्दै संविधानसभा संघीय गणतन्त्र हुँदै यहाँसम्म आइपुगेको सन्दर्भमा माओवादीले ती एजेन्डालाई लत्याउँदै विद्रोहको कुरा गर्नु जनादेशप्रति घात गर्नु हो। बरु माओवादीले यावत् सरकार तथा अन्य पदावलीहरु कुराहरु त्याग गरेरै भए पनि जनताका अग्रगामी एजेन्डाहरु लागू गरेर विश्वसामु परिवर्तनको नयाँ सन्देश दिने नीति तथा कार्यक्रम विस्तारित पालुङ्टार बैठकबाट पारित गरे उसैको भविष्य राम्रो हुने थियो। र आमजनताले अपेक्षा गरिरहेको पनि त्यही हो।

    0 Responses to “माओवादी पालुङ्टार बैठकसँग जनताको अपेक्षा”

    Post a Comment

    Site Info