Monday, April 2, 2012

0

प्रतिष्पर्धी विश्वमा व्यवस्थापकीय कौशल अपरिहार्य

  • Monday, April 2, 2012
  • Risap Gautam
  • Share
  • (रिसव गौतम),

    मूलतः व्यावसायिक फाँटमा देखिएको चौतर्फी प्रतिस्पर्धाले आज विश्वका देशहरुबीच चरम विभाजन शक्ति सन्तुलनको अवस्था देखा पर्दै छ।

    विश्वका देशहरुमध्ये जो जसले व्यावसायिक रुपमा रणनीतिक प्रतिस्पर्धा अंगीकार गरी सफलता हात पार्न सकेका छन् तिनीहरु नै समग्र आर्थिक राजनीतिक तथा शक्ति संचयको हिसाबले मजबुद बन्दै पनि छन्। आर्थिक रुपमा सुदृढ राष्ट्र र तिनका जनता नै आज सबैभन्दा खुसी र सन्तुष्ट देखिँदै छन्। राजनीतिक साँस्कृतिक र आर्थिक दुरवस्था भोग्दै गरेका राष्ट्रहरु भने चरम पीडादायी जीवन बाँच्न विवश छन्। उदाहरणका लागि हामीले नेपाल अफगानिस्तान पाकिस्तानजस्ता एसियाली मुलुक तथा अपि्रुकी केही मुलुकहरुलाई लिन सकिन्छ। जो राजनीतिक र सांस्कृतिक अवस्था खलबलिएकै कारण आज विश्व मानचित्रमा जिल्ल परिरहेको स्थिति छ।

    उता दक्षिण एसियाका भारत चीन र अमेरिका तथा युरोपियन मुलुकहरुले भने सुन्दर प्रकृतिको वैज्ञानिक सदुपयोग र उत्खननमार्फत चामत्कारिक जीवन बाँचिरहेका छन्। आखिर किन त यति धेरै डेभियसन देखा पर्दै छ यो नै आजको अनुसन्धानको जल्दोबल्दो विषय हो। हामीले आफू पछि परेको महसुस गर्न सकेनौं र त्यसको कारण पत्ता लगाउन सकेनौं भने प्रगतिको दिशा बन्द जस्तै हुन्छ।

    आज दक्षिण एसियामा भारत र चीनको व्यावसायिक प्रतिस्पर्धा चरम उत्कर्षमा छ। व्यावसायिक फाइदा र घाटाको विषयले आज यी राष्ट्रहरु एकअर्कामा भिन्न मार्गदृष्टि हुँदाहुँदै व्यापारिक साझेदारको रुपमा सँगै हिँड्न बाध्य छन्। अघिल्लो वर्ष भारत-चीनबीचको सीमाविवाद चर्को हुँदाहुँदै पनि एकअर्काे देशको व्यापार हिस्सा ठूलो भएको र त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने भएको कारणबाट अन्ततः उनीहरु मिलेका थिए। यसरी हरेक विषय आर्थिक विषयसँग छायाँमा पर्दै छ। त्यसैको फलस्वरुप पनि हरेक देशले आ-आफ्नो भूगोल सुहाउँदो व्यापार व्यवसाय र रणनीति अख्तियार गर्दै छन्। अर्थतन्त्रमा औद्योगिक उत्पादनको हिस्सा ५० प्रतिशतको हाराहारीमा रहेको चीनले आफ्ना यावत् प्राकृतिक स्रोतसाधनको वैज्ञानिक उत्खनन र बिक्री प्रवद्र्धन गर्ने दिशामा अघि बढिरहेको छ।

    त्यस्तै भारतले भने सेवा क्षेत्र औद्योगिक क्षेत्र र कृषि क्षेत्रको समावेशी माध्यमबाट गतिलो आर्थिक लाभ लिइरहेको छ। केही अघि विश्व बैंकका एक आर्थिक सल्लाहकार एलएन घानीको विश्लेषण थियो चीनको तुलनामा भारतको आर्थिक वृद्धि नै तीव्र छ भन्ने। चीनले आफ्नो प्राकृतिक स्रोतको उत्खननमार्फत मात्र आर्थिक वृद्धि हासिल गरिरहेको अवस्थामा भारतले सेवा क्षेत्रको जोडले पनि प्रगति गरिरहेको छ। उनका अनुसार भविष्यमा चीनका साधनस्रोतहरु रित्तिँदै जाँदा भारतले आफ्ना संचित अथाह स्रोतसाधनको वैज्ञानीक उपयोगमार्फत् चीनलाई उछिन्ने विश्लेषण छ। हुन पनि सो विश्लेषणका केही आधारहरु छन्- जस्तो हाल सालैको एक अनुसन्धानले एसिया प्रशान्त क्षेत्रका प्रमुख १० विजनेश स्कुलहरुमध्येा चार वटा भारतमै रहेको देखाएको छ जसले एसियामा भारत शैक्षिक रुपले आकर्षणको केन्द्र बन्दै गएको प्रमाणित हुन्छ। अर्को तथ्य के हो भने भारतमा विजनेश स्कुल प्रभावकारी बन्दै गएकोबाट व्यावसायिक रुपमा पनि दक्ष जनशक्ति उत्पादन हुँदै गएको स्पष्ट हुन्छ।

    एमबीए एमबीएसजस्ता विजनेशसँग सम्बन्धित विषयहरुमा भारत अघि बढेबाटै ऊ व्यावसायिक रुपमा कति सफल बन्दै छ र बन्ने क्रममा छ भन्ने छर्लंग हुन्छ। फेरि व्यवस्थापन तथा व्यावसायिक विज्ञान भनेको त्यस्तो कला हो जसले अरु जुन कुनै विषयमा पनि प्रत्यक्ष सरोकार राख्दछ। व्यवस्थापन कलामा कमी हुदा जुनसुकै पेशा वा व्यवसाय अपनाउँदा पनि आर्थिक रुपमा नै बढी सरोकार राख्ने मानव विश्वमा पछि पर्ने ठूलो आधार हुन्छ।

    हालसालै अमेरिकामा गरिएको एक अनुसन्धानले पनि अर्थशास्त्र र व्यवस्थापन शिक्षा पाएकाहरु सबैभन्दा बढी धनी हुँदै गएको भन्ने तथ्य सार्वजनिक गरेको थियो। उता विश्वको प्रमुख शक्तिराष्ट्रको रुपमा रहेको अमेरिकाले संसारभर तेल राजनीति गर्दै आएको सर्वविदितै छ। हालसालै पनि अमेरिकाले इरानमाथि परमाणु हतियारको नाममा तेलको कारण आर्थिक नाकाबन्दी मात्र गरेको छैन त्यस देशको सत्ता परिवर्तन गराउन चौतर्फी आक्रमणको योजना बुनिरहेको अवस्था छ। पेट्रोलियम पदार्थको सम्भावित संकटलाई राम्ररी बुझेको अमेरिकाले तेल संचयमार्फत् अझै पनि विश्व आर्थिक शक्तिराष्ट्र बनिरहन चाहेको छ। उसो त व्यवस्थापन कलाको सर्वोत्तम नमुना अमेरिका विगतदेखि नै सारा विश्वमा आफ्नो हैकम लाद्न उद्दत देखिन्छ। तैपनि उसको अर्थतन्त्रको आकार उदयमान भनेर खुब चर्चा गरिएको चीनको भन्दा धेरै नै ठूलो छ।

    खासमा अमेरिका व्यावसायिक र व्यवस्थापकीय कलाको माध्यमबाट विश्वको हिरो भइरहेको अवस्था छ। त्यसैले पनि नेपालजस्तो चरम गरिबीले गाँजेको मुलुकमा व्यावसायिक र व्यवस्थापकीय शिक्षाको ठूलो महत्व छ। चारैतिर नवधनाढ्य मुलुकबीच रहेको नेपालले आफ्नो मुहार फेर्न औद्योगिक क्रान्ति कृषि क्रान्ति पर्यटन क्रान्ति गर्न आवश्यक छ। त्यसका लागि बहुसंख्यक नवआगन्तुक युवाहरुमा नवीनतम व्यवस्थापनको ज्ञान दिलाउनु आवश्यक छ। अरु राष्ट्रहरुसँग कस्तो सम्बन्ध राख्ने के-कस्ता रणनीति अख्तियार गर्ने उनीहरुको आवश्यकताका वस्तुहरु के-के हुन् पहिचान गर्ने बजारको आकार कत्रो छ पहिचान गर्ने लगायतका यावत् कुराहरुमा साक्षात्कार हुन जरुरी छ। यी यावत् विषयहरुमा नवआगन्तुक युवाहरुलाई दक्ष बनाइँदा मात्र नेपाल जस्तो अल्पविकसित राष्ट्रले विश्व बजारमा उदारीकरणकॊ उपयोगमार्फत् व्यापारिक लाभ हासिल गर्न सक्दछ।

    केही अघि चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणमा नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भारत र चीनबीचको पुल बनेर रहन चाहन्छ भनेको सन्दर्भले पनि व्यापारिक हिसाबले नेपालको रणनीतिक महत्व कति उचाइको छ स्पष्ट हुन्छ। चिनियाँ प्रधानमन्त्रीले समेत डा. भट्टराईको प्रस्तावलाई सह्राहना गरेर भारतसँग सम्बन्ध सुधार्न सुझाव दिएका थिए। तसर्थ नेपाल भोलिका दिनमा चीन र भारतबीचको ठूलो बजारको रुपमा विकसित हुन सक्ने आधार खडा भएको छ । यदि हामीले अहिलेदेखि नै युवाहरुलाई व्यावसायिक शिक्षाको जोडमा ठूला दुई देशबीच रहेर व्यापारिक लाभ उठाउने उद्देश्य लिने हो भने नेपालको अर्थतन्त्र विश्वकै बजार भनेर चिनिने हङकङ बराबर नहोला भन्न सकिँदैन। त्यसको लागि सम्बन्धित नीतिनिर्माता सरोकार समूह र राजनीतिक दलहरुले एकचोटि घोत्लिनु बेस हुन्छ ।

    0 Responses to “प्रतिष्पर्धी विश्वमा व्यवस्थापकीय कौशल अपरिहार्य”

    Post a Comment

    Site Info